अदालतको फैसला– विवाह भइसकेकी छोरीले पनि पैतृक सम्पत्ति पाउने

अदालतको फैसला– विवाह भइसकेकी छोरीले पनि पैतृक सम्पत्ति पाउने

3

- Advertisement -

काठमाडौं– जिल्ला अदालत नवलपुरले विवाह भइसकेकी छोरीले समेत दाबी गरेमा अंश पाउने फैसला गरेको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पैतृक सम्पत्तिको हकदार छोरा मात्रै हो भनेर छोरीलाई अंशबाट वञ्चित गर्नु पितृसत्तात्मक सोच भएको ठहर गरेको हो।

बाग्लुङ जैमनी–९ घर भइ नवलपरासीस्थित कावासोती–४ हसौरा बस्ने गंग बहादुर थापाकी छोरी सीमा थापा र ज्योति थापा वादीले हजुरआमा नन्नाकली थापासमेतलाई प्रतिवादी बनाइ दायर गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको हो।

२०७५ सालमा दायर भएको रिटमाथि २०७९ मंसिर २७ गते फैसला गरिएको थियो। त्यसको पूर्णपाठ भने भर्खरै सार्वजनिक भएको छ।

गंगाबहादुरले भारतमा कान्छी श्रीमती बिहे गरेपछि नेपालमा रहेकी जेठी श्रीमतीले अन्तै बिहे गरेकी थिइन्। जेठीबाट गंगाबहादुरका एक सन्तान रहेका छन्। केही समयअघि गंगाबहादुर र उनकी श्रीमतीको मृत्यु भएपछि गंगाबहादुरकी आमा नन्नाकलीले सम्पत्तिमा हक लाग्ने अरु कोही नभएको र दुई छोरीहरूको विवाह समेत भइसकेको भन्दै सम्पत्ति आफ्नो नाममा गराएकी थिइन्। उक्त सम्पत्तिलाई सगोलकै सम्पत्ति भएकाले आफूहरुको भोगाधिकार हुने नन्नाकलीको दाबी थियो।

गंगाबहादुरकी कान्छी श्रीमतीबाट जन्मिएका २ छोरी सीमा र ज्योति भारतमै थिए। २०७५ सालमाा बुवाको सम्पत्ति खोज्दै उनीहरू नेपाल आए। उनीहरूले बुबाको सम्पत्ति र अंशको हकदार आफूहरू पनि भएको दाबी गरे। तर नन्नाकलीले उनीहरूको विवाह भइसकेकाले सम्पत्ति नपाउने भन्दै सीमा र ज्योतिलाई अंश दिन अस्वीकार गरिन्।

त्यसपछि उनीहरूले अंश दाबी गर्दै नन्नाकलीविरुद्ध अदालतमा रिट दायर गरेका थिए। हजुरबुबा कविराम र हजुरआमा नन्नाकलीबाट तीनवटा छोरा र पाँच छोरीहरूको जन्म भएको, जसमध्ये छोरी रुपा थापाबाहेक अरु छोरीहरुको विवाहदान भइसकेको फिरादपत्रमा उल्लेख गरिएको थियो। सीमा र ज्योतिका बुवा गंगा र आमा चन्द्राको निधनपश्चात् उनीहरूले सम्पूर्ण सम्पत्तिलाई पाँच भाग लगाइ चार भाग पर सारी आफ्नो बाबुले पाउने अंश छुट्याइ पाउँ भन्दै अदालतमा फिरादपत्र दायर गरेका थिए।

प्रतिवादी नन्नाकली समेतले जालसाक्षी गरी विपक्षी सीमाले विहे गरी भारतमा बसेको भन्ने विवरण अदालतमा पेस गरेको र अंश दिन आनाकानी गरेको उल्लेख गर्दै अदालतको क्षेत्राधिकार नपुग्ने भएकाले फिराद खारेजी गर्नुपर्ने जिकिर गरेका थिए।

त्यसैगरी मुलुकी देवानी संहिता २०७४ को दफा २०५ मा सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु–आमा र छोरा–छोरीलाई अंशियार मान्ने प्रष्ट व्यवस्था भएको उल्लेख गर्दै सोही संहिताको परिच्छेद १० मा विवाहित छोरीहरूले समेत अंशहकको माग दाबी लिन पाउने अदालतले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ।

अंशको अधिकार छोरालाई मात्रै भएको भनी छोरीलाई अंशबाट वञ्चित गर्न खोज्नु पितृसत्तात्मक सोच भएको व्याख्या समेत अदालतले गरेको छ। अदालतले मूल अंशियार हजुरआमा नन्नाकलीलाई गंगाबहादुरका दुई छोरीलाई अंशाधिकार दिन आदेश समेत दिएको छ।

फिराद माग बमोजिम अंश फाँटवारीमा पेस हुन आएका कित्ता नम्बरहरू २७६, ३२८, ९४७, ३५८, ८९०, ८९४, ८९८ र ६१६ को जग्गालाई मुल ६ (छ) अंश भाग लगाइ गंगाबहादुरको एक अंश भाग छुट्टाएर त्यसलाई पुनः ३ अंश भाग लगाउने आदेश अदालतले दिएको छ।

Leave A Reply

Your email address will not be published.