विरगंजको बालगृहको अवस्था अहिले पनि तनावग्रस्त

विरगंजको बालगृहको अवस्था अहिले पनि तनावग्रस्त

1

- Advertisement -

वीरगन्ज । वीरगन्जको वीर्तास्थित बाल सुधार गृहको अवस्था हिजो रातीदेखि अहिलेसम्म पनि तनावपूर्ण रहेको छ । हिजो राती ७ बजे देखि सुरु भएको झडप अहिलेसम्म नै जारी रहेको छ । स्तिथि साम्य पारेर नेपाल प्रहरी गृहभित्र प्रवेश गर्न खोजेपनि हालसम्म भित्र छिर्न सकेका छैनन्।

सुधारगृह भित्रबाट बाहिर रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार भइ नै रहेको छ। केहीबेर अगाडि प्रहरीले केही सेल अश्रु ग्याँस प्रहार गरेको थियो तर पनि अवस्था त्यसतै छ ।

सुधार गृहमा रहेका बालकबीच झडप हुँदा ११ जना बालक तथा उनीहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरी समेत घाइते भएका थिए ।

वीरगन्जको बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहाँ पहिलेदेखि बस्दै आएका बालकहरुबीच मंगलबार राति विवाद भइ झडप हुँदा सुधारगृह रातीदेखि नै तनावग्रस्त छ।

झडपमा भक्तपुरबाट ल्याइएका मध्ये १० समेत गरी ११ जना बालक र तीन जना प्रहरी घाइते भएका पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन्। घाइते भएका सुधार गृहका ११ जना बालकलाई मंगलबार राति नारायणी अस्पतालमा उपचार गराइ जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको उनले बताए ।

प्रहरी उपरीक्षक शाहका अनुसार भक्तपुरको बाल सुधार गृहमा भदौ ४ मा जेल फुटाएर विरोध गर्दै निस्किएका मध्ये १८ जना बालकहरुलाई वीरगन्जको बालसुधार गृहमा ल्याएर राखिएको थियो। यहाँ पहिलेदेखि १३१ जना बालक थिए। सुधार गृहमा अहिले कूल १४९ जना बालकहरु रहेका गृह प्रमुख टिका काफ्लेले जानकारी दिए।

भक्तपुरबाट ल्याएर राखिएका बालकहरुले मंगलबार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि त्यही विषयमा विवाद भइ झडप भएको हो। त्यस क्रममा उनीहरुले सुधार गृहभित्र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा सुधार गृहमा पुगेको थियो। तर सुधार गृह भित्रबाट बालकहरुले ढुङ्गामुढा गरेर प्रहरीलाई अबेर रातिसम्म पनि सुधार गृह भित्र छिर्न दिएनन्। त्यसै क्रममा ढुङ्गाले लागेर तीन जना प्रहरी पनि घाइते भएका प्रहरी उपरीक्षक शाहले बताए। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड अश्रु ग्याँस पनि प्रहार गरेका थिए।

अहिलेसम्म पनि प्रहरीलाई सुधार गृहभित्र रहेका बालकहरुले प्रवेश गर्न नदिएको त्यहाँ खटिएका पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए। उनले भने, ‘मंगलबार रातिको भन्दा अहिले स्थिति केही सामान्य छ तर भित्र उनीहरुले अहिले पनि होहल्ला गरि नै रहेका छन्।’

बाल सुधार गृहका प्रमुख टिका काफ्लेका अनुसार एक महिना पहिले भक्तपुरको बाल सुधार गृहमा उत्पात मच्चाएकामध्ये १८ जना बालकलाई वीरगञ्जको बाल सुधार गृहमा ल्याएर राखिएको थियो। तर उनीहरुले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए। त्यहीं विषयलाई लिएर उनीहरुले मंगलबार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि सुधार गृह तनावग्रस्त बनेको प्रहरी उपरीक्षक शाहले बताए।

सुधार गृहमा मंगलबार रातिदेखि प्रदर्शन गरिरहेका बालकहरुले भने सुधारगृहमा आफूहरुलाई खाना राम्रो नदिएको , घरमा फोन गर्दा एक कलको १ सय रुपैयाँ लिने गरिएको , एउटै कोठामा धेरै जनालाई कोचेर राखिएको , शौचालय पनि राम्रो नभएको , सुधार गृह प्रमुखले यातना दिंदै आएको , बाल अधिकारको हनन गरिएको  , हामीलाई पटक पटक कुटपिट गरिएको जस्ता आरोप लगाएका छन्।

Leave A Reply

Your email address will not be published.