रविविरुद्धको मुद्दा हेर्न नमिल्नेमा, अर्को इजलासमा सुनुवाइ हुने

7

- Advertisement -

काठमाडौं / २१ चैत २०७९    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिट मंगलबार हेर्न नभ्याइनेमा पर्दै सरेको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो । तर, न्यायाधीश सिन्हाको इजालसले उक्त मुद्दा हेर्न नमिल्ने भन्दै अर्को इजलासमा पेस गर्न आदेश दिएको हो ।

२०७९ माघ १३ मा रविको नगरिकता प्रकरणमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला गरेको थियो । उक्त संवैधानिक इजलासमा सिन्हा पनि रहेका थिए । सोही कारण हेर्न नमिल्ने भन्दै सारिएको हो ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता पेस गरेर राहदानी लिएका लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी हालै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने मागसहित युवराज सफलले सोमबार रिट दिएका थिए ।

यसअघि नागरिकता मुद्दा हारेपछि लामिछानेको सांसदसँगै मन्त्री पद गुमेको थियो । अहिले उनले नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रिया पूरा गरिसकेका छन् ।

राहदानीसम्बन्धी विवाद पनि कानुनी प्रक्रियाबाट निराकरण भइसकेको लामिछानेको दाबी छ । सोमबार चितवन २ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्तापछि सञ्चारकर्मीसँग बोल्दै उनले राहदानीसम्बन्धी विवाद न्यायिक प्रक्रियामार्फत निराकरण भइसकेको बताएका थिए । लामिछानले यस्तो दाबी गरेकै दिन उनीविरुद्ध सर्वोच्चमा अर्को रिट दर्ता भएको हो‍ ।

महान्यायाधिवक्ता पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय यही चैत ६ गते गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयहुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो ।

Leave A Reply

Your email address will not be published.