विश्व कपमा छनोट भएको यू–१९ टोली स्वदेश फर्कियो

4

- Advertisement -

काठमाण्डाै / १९ फागुन २०७९     विश्व कपमा छनोट भएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

यूएईमा भएको विश्व कप छनोट खेलेर सन् २०२४ मा श्रीलङ्कामा हुने विश्व कप खेल्ने सुनिश्चित गरी टोली स्वदेश फर्किएको हो । नेपाली टोली आज शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

आईसीसी यू–१९ विश्व कप एसिया छनोटको बिहीवार सम्पन्न खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्व कपका लागि छनोट भएको थियो । यस जितसँगै नेपालले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्व कप खेल्ने पक्का भएको थियो ।

नेपाल आएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रशिक्षक जगत टमाटाले नेपालको फिल्डङ र बलिङका कारण विश्व कपमा छनोट भएको प्रतिक्रिया दिए । उनले सबै खेलाडीले मेहनत गरेर खेल्दा जित हात पारेको र फाइनल खेलमा यूएईसँगका अन्तिम तीन विकेट जादुमय भएको बताए । उनले विश्व कप २०२४ मा हुने भएकाले धेरै समय बाँकी रहेकाले राम्रो नतिजा निकाल्ने गरी खेल्ने बताए ।

त्यस्तै यू–१९ टोलीका कप्तान देव खनालले सबै खेलाडीको मेहनतले विश्व कपमा छनोट भएको प्रतिक्रिया दिए । उनले प्रतियाेगितामा जाँदा धेरै चुनौती भए पनि अब आउने दिनमा आफूलाई झनै प्रमाणित गरेर जाने चुनौती रहेको बताए । बताउनु भयो । उनले विश्व कपमा छनोट हुनु आफ्ना लागि एउटा सपनाजस्तै भएको बताए ।

त्यस्तै बलर दीपेश कँडेलले ‘ह्याट्रिक’ विकेटभन्दा पनि आफ्नो टिमले जितेकोमा खुसी लागेको बताए । उनले आफू अन्तिम ओभर बलिङ गर्न आउँदा आफ्नो जीवनको ‘फर्स्ट एन्ड लास्ट’ ओभर सोचेर बलिङ गरेको बताए ।

नेपाल सन् २०१६ पछि पहिलो पटक विश्व कपका लागि छनोट भएको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यू–१९ विश्व कप खेलेको थियो ।

Leave A Reply

Your email address will not be published.