छोरा र ज्वाई मिलेर बाबुको हत्या

पाँच लाख खर्चेर सुटर मगाइयो

15

- Advertisement -

धनुषा / २१ पुष २०७९  धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-२ बस्ने ५० वर्षीय धनुषधारी दासको हत्यामा आफ्नै जेठा छोरा र ज्वाईँको संलग्नता रहेको खुलेको छ ।

धनुषधारीलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा उनकै जेठो छोरा २१ वर्षीय प्रदीप दास, उनकै ज्वाइँ महोत्तरी पिपरा गाउँपालिका-५ सहोडवा बस्ने ३४ वर्षीय उदय दास र मृतकलाई गोली हान्ने (सुटर) धनुषा नगराईन नगरपालिका-२ जटही बस्ने २१ वर्षीय रंजीत कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा बिग्रीएको पानी पम्प सेट मर्मत गरिरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले पुस ९ गते बिहान गोली प्रहार गर्दा गम्भीर घाइते भएका धनुषधारीको उपचारको लागि प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धान गर्न तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार धनुषधारीका जेठो छोरा प्रदीप, घटनाका सहयोगी धनुषधारीका ज्वाइँ उदय र गोली प्रहार गर्ने रंजित कुमारलाई हत्या गर्न प्रयोग भएको कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोलीको खोका १ थान, अटोमेटीक पेस्तोलमा लाग्ने म्याग्जीन १ थान र अटोमेटिक पेस्तोलको गोली १ राउण्ड सहित पक्राउ गरेको हो ।

५ लाख रुपैयाँ सुपारी दिएर सुटरबाट धनुकधारीको हत्या गराएको आरोपमा किरियामा बसेका उनका छोरा २१ वर्षीय प्रदीप दाससहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै घट्नामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

धनुकधारीलाई हत्या गर्न छोरा प्रदीपले पहिलादेखि नै योजना बुनेका थिए । दुईतीन महिना अगाडि सुटर रञ्जितसँग सम्पर्क गरी आफ्नो बुवा धनुकधारीको हत्या गर्न भनेका थिए । बाबुको हत्या गरे वापत ५ लाख रुपैयाँ दिने सहमति भएको प्रहरीलाई प्रदीपले बयान दिएका छन् ।

एक महिनाअघि प्रदीले सुटर रञ्जितलाई एक लाख रुपैयाँ एडभान्स दिएका थिए । जसबाट भारतबाट कटुवा पेस्तोल नाल १, सोमा लाग्ने गोली राउण्ड २, अटोमेटिक पेस्तोल नाल १, सोको म्याग्जिन थान २, गोली राउण्ड ८ समेत ल्याएर कोठामा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.