उत्साहसाथ मतदान गर्न आह्वान

7

- Advertisement -

काठमाडौँ / २ मंसिर २०७९   प्रमुख राजनीति दललाई आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा विगतभन्दा मतदान प्रतिशत बढाउने चुनौती देखिएको छ ।

प्रमुख दलले मतदातालाई आफ्नो अधिकार प्रयोग गरी सही उम्मेदवार चयन गर्न आह्वान गरेका छन् । बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएकाले निर्वाचन प्रचार रोकिएको छ ।

गठबन्धन बनाएर प्रमुख दल चुनावी मैदानमा उत्रिएकाले मतदान प्रतिशत कम हुने हो कि भन्ने शीर्ष नेताको चिन्ता छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार भिडियो सन्देशमार्फत मतदानलाई उत्सवका रूपमा लिन सबै मतदातालाई अपिल गरेका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूले ‘पाँच वर्षमा हुने आमनिर्वाचनलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी हुन’ अपिल गरेका छन् । गठबन्धनका तर्फबाट कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले बिहीबार संयुक्त अपिल जारी गर्दै मतदानमा सहभागी हुन आग्रह गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि मतदानमा उत्साहपूर्वक सहभागी भई जिम्मेवार नागरिकको दायित्व पूरा गर्न अपिल गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मताधिकारको अनिवार्य प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन् । राजनीतिक दलहरूले निर्वाचनका दिन मतदान केन्द्रसम्म मतदाता ल्याउन स्वयंसेवक परिचालन गर्ने जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.