युवा र देश विकास

युवा र देश विकास

16

- Advertisement -

सामान्यतया युवा भन्नाले सशक्त जोश, जाँगरले भरिपूर्ण १६ देखि ४० वर्षसम्मको उमेर समूहलाई जनाउँछ । तर वास्तवमा युवा उमेरमात्रै हैन, युवा प्रवृत्ति पनि हो, दृष्टिकोण, जोश, जाँगर र हिम्मत पनि हो । माओत्सेतुङले भनेका छन्– ‘भविष्य तिम्रो पनि छ, हाम्रो पनि छ तर अन्तिम भविष्य युवाको छ ।’ त्यसैले, युवावर्ग हरेक राष्ट्रका महान् सम्पति हुन् ।
केन्द्रीय तथ्याङ्क विभाग भन्छ, नेपालको जनसंख्याको सबभन्दा ठूलो हिस्सा युवाको छ, अर्थात् ४० प्रतिशतभन्दा बढी । तर, आज देशलाई खाँचो परेका ती युवा कहाँ छन् त ? सबैले दिने उत्तर हो, राहदानी लिने लाइनमा, कतार, दुबई, अस्ट्रेलिया, युरोप र अमेरिकामा । यो त आमरुपमा जसले पनि देखेको दृश्य भयो । नेपाली युवा पाइने अर्को ठूलो ठाउँ छ– प्रहरी हिरासत, जेल र लागूऔषध सुधारगृहहरु र यसपछि रहेका युवाहरु गाउँघरमै रहेका छन्, जो चिया पसल, चोक र चौतारीमा बसेर चियाको चुस्की लगाउँदै, क्यारम बोर्डको गोटी हान्दै राजनीतिका कुरा गर्ने, सरकारको मुख ताक्ने, २४औँ घन्टा सामाजिक सञ्जालमा रमाउने गर्छन्, अनि कहाँबाट हुन्छ त देशको विकास ?

देशका खम्बाहरु मानिने युवा दिनदिनै विदेसिन्छन् । +२ सक्नेबित्तिकै युवाहरु नै नेपालमा बस्न रूचाउँदैनन् । नेपाली माटोमा हुर्केर पढ्दै सक्षम र लक्का जवान भइसकेपछि नेपालमै बसी देश विकासमा लाग्नुको सट्टा नेपाली युवा कुनै गोरेको डिपार्टमेन्टल स्टोरमा सामान बेच्न वा उनीहरुको चाकडी गर्न लाखौँलाख तिरेर पुग्छन् । विदेसिनु सबै युवाको रहर पनि हुँदैन, बाध्यता पनि हुन्छ । अहिले युवाहरुमा रहेको मूल समस्या बेरोजगारी हो र यसकै निउँ पारेर कोही विदेशिन्छन् त कोही बेरोजगारी नै बस्छन् ।

मलाई त विरक्त लागेर आउँछ, कृषिप्रधान देश हाम्रो नेपाल तर हामी युवा पुर्खाले छोडिदिएको प्यारो उर्वर जमिनलाई बाँझो राखेर जहाज चढ्न मन पराउछौँ । स्वदेशमै रगत र पसिना बगाउन हामीलाई लाज लाग्छ । हातमा कोदाली, डोको र नाम्लो अनि काँधमा हलो–जुवा समाउँदा मरितुल्य हुन्छौँ । तर, अर्काको देशमा जुठा भाँडा माझ्दा र ट्वाइलेट सफा गर्नुलाई राम्रो मान्छौँ, अनि राहदानी लिने लाइनमा उभिन्छौँ । त्यसपछि कहाँबाट बन्छ त नेपाल ?

धन्न आजसम्म सगरमाथाको शिर र बुद्धको उपदेश त छ, तर त्यही पनि चीनले भन्छ सगरमाथा हाम्रो हो र इन्डियाले भन्छ बुद्ध हाम्रो इन्डियामा जन्मेका हुन् । अनि हामी त्यही देशका युवाहरु विदेशमा विदेशीको गुलामी गरिरहेका छौँ । अनि कसले जोगाउने राष्ट्र र राष्ट्रियता ?

छिमेकी मुलुक इन्डियाले कालापानी र लिम्पियाधुरा कब्जा गरिसक्यो । इन्डियालाई पनि थाहा भइसक्यो कि नेपालमा विदेशिने युवाहरु मात्र जन्मिन्छन्, बेरोजगार युवाहरु मात्र जन्मिन्छन् भनेर । त्यस कारण, छिमेकीले नेपाली आमाको चोली पटकपटक च्यातिदिन्छ तर हामीमा चोली च्यात्नेलाई खबरदारी गर्न त परै जाओस्, टाल्न सक्ने क्षमता पनि छैन ।

सिंहदरबार जाऔँ बूढैबूढा देखिन्छन्, सुधारगृह, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाऔँ, युवैयुवा नै देखिन्छन् र रहेका अन्य युवा राजनीति र भाषण मात्र गर्ने ठाउँमा भेटिन्छन्, अनि भन्ने गर्छन्– ‘उमेर पाकेका बूढा नेताहरुले ठाउँ छाडेनन् । उनीहरुले ओगटेर बसेकाले अवसर पाइएन ।’ उमेर पाकेका नेतातर्फ चोर औँला ठड्याउँदा अन्य चार औँला आफूतिर ठडिएको ख्याल गर्दैनन् र पैसाको बलमा सांसद् हुने अवस्था आएपछि युवा पार्टी कार्यालयभन्दा नेताको निवास धाउन थाल्छन् । उनीहरु नीति बनाउने बहसमा भाग लिँदैनन्, नेताका निर्देशन कुर्छन् ।

प्रधानमन्त्रीको कार्यालयको भित्तामा झुन्डिएका चार दर्जन नेपालका प्रधानमन्त्रीमा कसैको अनुहार युवाको छ त ? छैन । हजारौँहजार शहीदको सूचीमा कहीँ वृद्धको अनुहार छ त ? छैन । त्यस कारण, देशमा व्यवस्था फाल्न, विकास गर्न युवा नै सडकमा उत्रिनुपर्छ भन्ने थाहा हुँदाहुँदै हामी युवा किन चुप छौँ त ? आज राष्ट्रमा कुनै सङ्कट आइलाग्दा विगतकै जसरी अग्रपंतिmमा आउन सक्ने युवा जमात छ त ? हामी नेपाली युवा छौँ, तर स्वार्थकेन्द्रित नभईकन आफ्नो विवेक प्रयोग गरेर राष्ट्रका लागि अगाडि बढ्नुपर्छ । युवाले चाहे जे पनि हुन्छ । त्यसैले, अबको नेपाली राजनीतिमा युवाको एकदमै खाँचो परेको छ ।

नेपोलियनले २६ वर्षको उमेरमा विश्व विजय अभियान थालिसकेका थिए । सिद्धार्थ गौतमले ३६ वर्षमै बुद्धत्व पाइसकेका थिए । काल माक्र्सले ३० वर्षको उमेरमै कम्युनिस्ट घोषणापत्र लेखी विश्वमा नयाँ राजनीतिक दर्शनको जग बसाइसकेका थिए । पृथ्वीनारायण शाहले २० वर्षको उमेरमा राज्य एकीकरणको अभियान सुरू गरिसकेका थिए । बाबुको लासमाथि कात्रो ओढाएर देशका लागि लडाइँ पर्दा, क्रान्ति गर्दा होमिने थुप्रै योद्धाहरु पनि युवा नै थिए । चाहे त्यो १०४ वर्षसम्मको एकतन्त्रीय राणाशासनको अन्त्यका निम्ति होस् अथवा प्रजातन्त्रको स्थापनाका निम्ति होस् अथवा ऐतिहासिक जनआन्दोलनको अवस्थामा होस्, युवाले बगाएको रगतको योगदान नै सर्वोपरि रहेको छ ।

जुनसुकै मुलुक पनि युवावर्गमा रहेको तातो र रातो रगतले मात्र सिञ्चिएको हुन्छ । भनिन्छ, संसारभर ११ वटा मात्र देशहरु हुँदा अमेरिका भन्ने देश थिएन रे ! तर, आज हामीभन्दा कान्छो मुलुक अमेरिका कहाँ छ, अनि हामी कहाँ छौँ ! हामीले राणाशासनको अन्त्य गर्दै गर्दाको सेरोफेरोमा इन्डिया ब्रिटिसहरुबाट र चीन जापानिजहरुबाट स्वतन्त्र भएका थिए रे, तर हाम्रा दुई ठूला छिमेकी देशहरु कहाँ छन् र हामी कहाँ छौँ ! त्यस कारण, यस विषयमा युवाले गम्भीर भएर समीक्षा गर्ने वा सोच्ने बेला आएको छ । अमेरिका, चीन र भारत त्यसै बनेका होइनन् ।

त्यस कारण, परिवर्तनका संवाहक समाजको समृद्धिको मेरूदण्ड भनेको त्यो समाजको युवाको शक्ति हो । युवाशक्तिकै बलमा मात्र समाज, देश, दुनियाँ अगाडि बढ्न सक्छ । चाहे त्यो विश्वयुद्ध ताका हिटलरको पालामा होस् वा प्रविधिको युगमा होस्, युवावर्ग नै हो युद्धमा होमिएर आफ्नो देशको अस्तित्व बचाउने । युवावर्ग नै हो नयाँ प्रविधिको खोज अनुसन्धान गरेर विश्वमाझ आफ्नो राष्ट्रलाई चिनाउने ।

रसियाका महान् मानवतावादी साहित्यकार लियो टोल्स्टोयले ‘युद्ध र शान्ति’ नामक पुस्तकमा ‘क्रान्ति विचारको उपज होइन, यो त युवाको र परिवर्तनको चाहना हो’ भनेर लेखेको भनाइले पनि युवावर्गको समाज रुपान्तरण गर्ने कतिसम्म सामथ्र्य हुन्छ भन्ने कुराको पुस्ट्याइँ गरेको छ ।

त्यस कारण, समृद्ध नेपालको सपना असम्भव होइन । युवाहरुले चाहेमा समृद्ध नेपाल सम्भव बन्नेछ । अब हामी नेपाली युवा ननिदाएर वा निदाउन नदिने सपना देख्दै वायुको वेगमा लम्किँदै देश विकासमा लाग्नुपर्छ । यदि अब हामी युवा नै जागृत हुन सकेनौँ भने देश निर्माणको कल्पना पनि गर्न सक्दैनौँ । किनभने, युवाबिनाको देश भनेको भविष्यबिनाको देश हो । तसर्थ, हरेक युवाले समृद्ध नेपाल, खुसी नेपालीको नारा विमानस्थलको होर्डिङ बोर्डमा पुलुक्क हेर्दै विदेशिनुलाई गौरव मान्ने मानसिकतालाई समृद्ध नेपाल निर्माणमा लगाउनुपर्छ । देश विकासका लागि युवाहरु राजनीतिमा लाग्नुपर्छ । देश हाम्रै हो र देश बनाउने दायित्व पनि हाम्रै हो ।

Leave A Reply

Your email address will not be published.