आफ्नै छोराछोरीको हत्या गर्ने बुबा पक्राउ

10

- Advertisement -

बर्दिया :  आफ्नै छोराछोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पाँच वर्षको अन्तरमा छोराछोरीको हत्या गरेको आरोपमा बैतडीको दशरथचन्द नगरपालिका–२ का ३० वर्षीय डम्बरबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो ।

डेढ वर्षकी छोरी स्मृति र चार वर्षका छोरा छोरा दिपकको हत्या गरेको डम्बरबहादुरलाई आरोप लागेको छ । उनले हत्या गरेको स्वीकारेका पनि छन् ।

डम्बरले ०७४ साल फागुन २१ गते छोरीलाई घुमाउन लैजान्छु भनेर लगेको श्रीमती कृष्णा चन्द बताउँछिन् । त्यस दिनदेखि छोरीलाई बेपत्ता बनाएर श्रीमान् केही समय घर नफर्केको कृष्णाले बताइन् । नेपाली सेनामा जागिरे डम्बर भगौडा सैनिक हुन् ।

पटक–पटक छोरी कहाँ छिन भन्दा श्रीमानले कहिले एसओएस बालग्राम काठमाडौ त कहिले सुर्खेत भनेर झूट बोल्दै आएको कृष्णाको भनाइ छ । डम्बरले केही समय भारतको हरियाणामा पेट्रोल पम्पमा पनि काम गरेका थिए ।

पछिल्लो समय भने उनी बर्दियाको बासगढी नगरपालिका ५ एसओएस चोकमा डेरा लिई बस्दै आएका थिए । भारतबाट उनी गत साउन ८ गते बासगढी फर्केको प्रहरीलाई दिएको बयानमा भनेका छन् ।

गत साउन १६ गते डम्बरले ४ वर्षीय छोरा दीपकलाई कपडा किन्ने भन्दै लगेका थिए । तर उनी आफू मात्र फर्किए । छोरा घर नफर्किएपछि कृष्णा आत्तिइन् । उनले छोरा हराएको भन्दै उनले इलाका प्रहरी कार्यालय बासगढीमा उजुरी दिइन् । खोजतलासका क्रममा प्रहरीले साउन २३ गते बारबर्दिया नगरपालिका ९ स्थित कल्याण सामुदायिक वनमा दीपकको शव भेटेको जिल्ला प्रहरी कार्यालयकाले  बताएको छ ।

‘दीपकको निर्ममतापूर्वक हत्या गरिएको रहेछ, ’तत्काल हामीले डम्बरलाई नियन्त्रणमा लिएपछि उनले छोरा र छोरीको हत्या गरेको स्वीकारेका छन् ।’ डम्बरले छोरीको हत्या गरेको ठाउँ बताए पनि पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ।

Leave A Reply

Your email address will not be published.