थप १० हजार बोरा मल पाउने सहमतिपछि वीरगंज महानगरपालिकाले छोडिदियो आफुले कब्जा गरेको ४ ट्रक मल

9

- Advertisement -

३० साउन २०७९, सोमवार / वीरगंज   वीरगंज महानगरपालिकाका कृषकका लागि थप १० हजार बोरा युरिया मल दिने सहमति भएपछि महानगरको नियन्त्रणमा रहेको ४ ट्रक मल छाडिएको हो ।

आइतबार वीरगंज १६ इनर्वाका कृषकले सोही ठाउँमा रहेको गोदामबाट विभिन्न जिल्लाका लागि लैजान लागिएको ४ वटा युरियामल बोकेको ट्रक नियन्त्रणमा लिएर महानगरलाई बुझाएको थियो ।

सोमबार वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेश कार्यालय वीरगंजका प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार ४ बुँदे सहमति भएको छ । जसमा वीरगंज महानगरपालिकाले यसअघि पाउने भनिएको दुई हजार ७ सय ७१ बोरा मलबाहेक थप ६ हजार बोरा मल यसै साता उपलब्ध गराउने उल्लेख छ ।
यस्तै कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा मल वीरगंजलाई उपलब्ध गराउने सहमति पनि भएको छ ।

यो सहमतिसँगै आइतबारदेखि वीरगंज महानगरपालिकाको नियन्त्रणमा रहेको ४ ट्रक युरिया मल कृषि सामग्री कम्पनीको जिम्मा लगाइएको हो ।

पत्रकार सम्मेलनमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अहिलेको सहमतिले तत्कालिन समस्या समाधान गरेको भए पनि दीर्घकालिन रुपमा मल अभाव निवारण गर्न नेपाल सरकारले नै आवश्यक व्यवस्था मिलाउनु पर्ने बताए ।

महानगरका कृषकका लागि आफू जुनसुकै हदसम्म जान तयार रहेको भन्दै उनले कृषककले समयमै मल, विउ पाउनु पर्ने व्यवस्थाका लागि सरोकारवाला निकायसँग सहकार्य गरिरहेको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.