सीमा नाका व्यवस्थापनमा खटिएका कर्मचारीमाथी कुटपिट गर्नेलाई कारबाहीको माग

7

- Advertisement -

२५ साउन २०७९, बुधवार / विरगंज     विरगंजको नेपाल भारत सीमा नाका व्यवस्थापनमा खटिएका कर्मचारीमाथी कुटपिट गर्नेलाई कारबाही गर्न नेपाल निजामती कर्मचारी संगठनले माग गरेको छ।

बुधबार एक विज्ञप्ती जारी गर्दै संगठनले राज्यको अत्यन्त संवेदनशील मानिने सीमा नाकाको व्यवस्थापनमा खटिने कर्मचारीहरूको मनोबल खस्काउने र जीउ ज्यानको सुरक्षाको चुनौतीमा कर्मचारीले प्रभावकारी सेवा प्रवाह गर्न नसक्ने देखिएको बताएको छ।

‘बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहने सीमा नाकामा खटिएका कर्मचारीमाथि ज्यादती हुने र कर्मचारीलाई भौतिक आक्रमण गर्ने अपराधी उपर कानून बमोजिम कारबाही नहुने हो भने यसबाट भोलिको दिनमा समग्र सेवाप्रवाह प्रणालीमा नै नकारात्मक प्रभाव पर्ने निश्चित छ। कर्मचारीहरुमा भयरहित वातावरणमा सेवा प्रवाह गर्नेअवस्थाको निर्माणमा सुरक्षा संयन्त्र अत्यन्तै चनाखो हुनु पर्नेमा प्रस्तुत सन्दर्भमा त सुरक्षाकर्मीको हवाला दिनेव्यक्तिबाट नै जघन्य अपराध भएको छ।’ जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।

रातको समयमा आफ्नो कार्य जिम्मेवारीमा तल्लिन राष्ट्रसेवक उपर भएको यो क्रियाकलापको नेपाल निजामती कर्मचारी संगठन, विभागीय कार्य समिति, अर्थमन्त्रालय घोर भत्सर्ना गर्दै र यस घटनालाई राज्य विरुद्धको अपराधको रुपमा लिई उक्त अपराधमा संलग्नव्यक्तिलाई कानून बमोजिम यथाशीघ्र कारवाही गर्नुपर्ने संगठनको माग छ।

साउन २३ गते रातको १० बजे नेपाल तर्फ आउँने गेट बन्द भइसकेपछि करीब ११ बजेको समयमा केही व्यक्तीहरू निजी नम्बर प्लेटको सवारि साधनबाट नेपाल प्रवेश गर्न खोजेको र उक्त समयमा गेट बन्द भएको कारण डियुटीमा रहेका कार्यालय सहयोगि बम बहादुर विशंखेले गेट बन्द छ अहिले जान मिल्दैन भनेपछि ती व्यक्तीहरुले कुटपिट गरेका हुन्।

मुलुकको राजस्व संकलनको कार्यमा जिम्मेवारी लिई खटिएका राष्ट्र सेवकहरुको सुरक्षाको प्रत्याभूति गर्नु सरकार एवं सुरक्षा निकायको जिम्मेवारी एवं दायित्वको विषय हो। कानूनको शासन स्थापना गर्ने कार्यमा जिम्मेवार सुरक्षा संयन्त्रमा कार्यरत रही सुरक्षाकर्मी हौं भन्ने व्यक्तिबाटै कर्मचारीमा असुरक्षा हुने अवस्थाको अन्त्य गरी भविष्यमा समेत यस्ता कुकृत्यहरु नदोहोरिने अवस्था निर्माण गरी सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदै संगठनले दोषी उपर कडा कारवाहीको माग गरेको छ।

Leave A Reply

Your email address will not be published.