एमाले नेतृत्व संघीयता विरोधी आवाज बोलिरहेको छ : जसपा प्रमुख सचेतक

11

- Advertisement -

१४ साउन २०७९, शनिवार / काठमाडौँ   जनता समाजवदी पार्टीका प्रमुख सचेतक प्रमोद साहले एमाले नेतृत्व संघीयता र धर्मनिरपेक्षताविरुद्ध संसद्‌मा नै बोलिरहेको भन्दै आपत्ति जनाएका छन् ।

साहले त्यस्ता अभिव्यक्तिलाई बन्देज लगाउन सभामुखसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख सचेतक साहले एमाले नेतृत्व र सांसदहरूको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । ‘एमाले नेतृत्वले संघीयता विरोधी आवाज हाउसमा बोलिरहेको अवस्था छ । यसरी संघीयता विरोधी आवाज उठाउने चेस्टा गर्‍यो भने यो देशका पीडित जनताले, जनजाति, मधेसीले कुनैले पनि छोड्दैन,’ उनको माग थियो,’एमाले विगतदेखि नै संघीयता, धर्म निरपेक्षता विरोधी अभिव्यक्ति हाउसमा दिइरहेको छ । गणतन्त्रमा यस्ता कुरा उठ्दा सभामुखले रुलिङ गरेर ती आवाज कमजोर पार्नुपर्छ ।

पीडित जनताले लडेर संघीयता ल्याएको र त्यसको विरुद्धमा बोले आफूहरू पछि नपर्ने साहको भनाइ थियो । उनले भने, ‘त्यत्तिकै संघीयता आएको होइन, उत्पीडनमा रहेका जनताको त्याग र बलिदानबाट आएको संघीयतालाई कसैले त्यत्तिकै बोलेर हटउने सोच गर्नुभएको छ भने त्यो दिवास्वप्न हो । यो पीडित जनताको खुन र पसिनाबाट आएको संघीयतालाई केही पार्टीका नेताले यो संसदमा  गणतन्त्रमा यस किसिमका भाषा प्रयोग गरिरहेको छ, खेद प्रकट गर्दछु ।’

संघीयता भएकै कारण संसद्‌मा ३३ प्रतिशत र मुलुकभरका हरेकजसो निकायमा गरेर ४१ प्रतिशत महिला प्रतिनिधित्व भएको साहको भनाइ थियो ।

त्यस्तै, एमालेले गलत राष्ट्रवादी नारा लगाइरहेको पनि साहको भनाइ थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयललाई भेटेको विषय स्मरण गर्दै साहले भने, ‘केपी ओली सरकारले धेरैथोक गरेको घटना सम्झिन चाहेको छु । २०७७ साल कार्तिक ४ गते सामन्त गोयललाई किन भेट्नुभयो ? उहाँहरूको पदीय मर्यादा पनि मिलेको थिएन । त्यसरी ल्याएर प्रधानमन्त्रीको कार्यालयमा गएर भेट्नु कसले अधिकार दियो ?’

राष्ट्रवादी भाषण गर्ने तर व्यवहारमा उल्टो काम गरिरहेको भन्दै साहले एमालेको आलोचना गरेका थिए । ‘बढी राष्ट्रवादी चरित्र देखाउने, राष्ट्रको विरुद्ध काम गर्ने एमालेको चरित्र नांगिएको छ । भ्रष्टाचारदेखि सुशासनसम्म नांगिएको छ एमाले ।’ त्यस्ता विषय संसद्‌मा उठेमा रोक लगाउनुपर्ने उनको माग थियो ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर जसपाका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भइरहेको चर्चा चलिरहेका बेला जसपाका प्रमुख सचेतकले संसद्मा एमालेको चर्को आलोचना गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.