महोत्तरीको टुटेश्वर मन्दिरमा महाकुम्भ मेला सुरु

490

- Advertisement -

५ साउन २०७९, बिहिवार / महोत्तरी   महोत्तरीमा बहुचर्चित साउने महाकुम्भ मेला सुरु भएको छ ।

महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकाको टुटेश्वर मन्दिरमा साउने मेला १ साउनदेखि सुरु भएको हो । प्रत्येक सोमबार लाग्ने उक्त मेलामा महिनाभरि २० लाख श्रदालु भक्तजनहरू टुटेश्वर महादेवको दर्शनको लागि आउने मन्दिर संरक्षण समितिले अनुमान गरेको छ ।

अघिल्लो साल कोरोना माहामारीका कारण देवालयहरू प्राय: सुनसान देखिएका थिए । तर, धार्मिक पर्यटकीय स्थलहरू पुरानो लयमा फर्किएसँगै देवालयहरू भरिभराउ देखिन थालेका छन् । यसै कारण पनि यो एक महिनामा २० देखि २५ लाख स्वदेशी तथा विदेशी धार्मिक आस्था बोक्ने भक्तजनहरू दर्शनको लागि आउने संरक्षण समितिका अध्यक्ष हरि महतले जानकारी दिए ।

साउनको हरेक सोमबार यस मन्दिरमा दर्शन गरे बाँझोपनको समस्याबाट मुक्त बन्ने, पापकर्महरू नाश हुने धार्मिक विश्वास रहँदै आएको छ । बर्दिबास-५ मा रहेको यस  मन्दिरलाई अहिले बेहुलीजसरी सिंगारिएको छ । १५० भन्दा बढी व्यापारिक स्टलहरू राखिएका छन् भने मनोरञ्जनका लागि विद्युतीय पिङ र विभिन्न खेलहरू खेल्न सकिन्छ ।

लामो लाइन बसेर टुटेश्वर महादेवको दर्शन गर्नुपर्ने हुँदा प्रचण्ड गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असरलाई ख्याल गर्दै स्वास्थ्य सहायता कक्ष, सहायता कक्ष जस्ता सहयोगी कक्षहरूको स्थपना गरिएको छ ।

मन्दिर वरपर व्यापार गर्नेहरूको भिड पनि उत्तिकै छ ।

टुटेश्वर मन्दिर

बारा, पर्सा, सप्तरीसहित भारतबाट यहाँ आएर विभिन्न व्यापार गर्नेहरूको आवागमनसमेत बढिरहेको छ । बाहिरबाट आउने श्रदालु भक्तजनहरूलाई आकर्षित गर्न मन्दिर परिसर लगायत वरपर सरसफाइमा विशेष ध्यान दिइएको छ ।

मन्दिर संरक्षण समितीले सयभन्दा बढी स्वयंसेवक परिचालन गरेको छ भने सुरक्षा संवेदनशीलतासँग जोडिएका विषयहरूमा चुस्त रहन सुरक्षाकर्मीहरूले विशेष सतर्कता समेत अपनाएका छन् ।

Leave A Reply

Your email address will not be published.