वीरगंज महानगरपालिकाले ३२ वटै वडाबाट कर र दस्तुर अनलाइन भुक्तानीको व्यवस्था मिलाइँदै

357

- Advertisement -

४ साउन २०७९, बुधवार / वीरगंज    वीरगंज महानगरपालिकाले ३२ वटै वडा कार्यालयबाट अनलाइन सिस्टम मार्फत कर तथा अन्य दस्तुर भुक्तानी गर्न सकिने गरी व्यवस्था मिलाउने भएको छ । त्यसका लागि महानगरले आवश्यक तयारी शुरु गरिसकेको छ ।

वीरगंज महानगरमा १६ वटा शहरी र १६ वटै ग्रामिण वडा छन् । हाल वडा नं २९ ले मात्रै  सम्पत्ति कर लगायत कर र अन्य दस्तुर अनलाइन सिस्टमबाट लिँदै आएको छ । शहरी वडाहरु मध्ये वडा नं ७, ८, १० ले पनि अनलाइन सफ्टवेयर प्रयोग गर्न थालिसकेका छन् ।

अन्य वडाहरुले दस्तुरहरु रसिद काटेर लिने गरेका थिए भने विभिन्न करहरु भुक्तानी गर्नका लागि महानगरपालिकाको कार्यालय नै आउनुपर्ने बाध्यता छ ।

महानगरले वडा कार्यालयबाट प्रवाह हुने सेवा १० गतेसम्मका लागि बन्द नै गरेर कम्प्युटर अपरेटरहरुलाई तालिम दिइरहेको छ । सोमबार बिहानदेखि नै अनलाइन सफ्टवेयरको बारेमा तालिम शुरु भइसकेको महानगरपालिकाले जनाएको छ । त्रिजुद्ध रघुविर महावीर प्रसाद मा.वि. मा सञ्चालित तालिम साउन ७ गतेसम्म चल्ने छ ।

उनीहरुलाई वीरगंज महानगरपालिकाले दैनिक रुपमा असुल उपर गर्दै आएका विभिन्न प्रकृतिका कर, शुल्क तथा दस्तुरहरु वडा कार्यालयबाटै अनलाइन सफ्टवेयरमा इन्ट्री गर्न सिकाइने राजश्व व्यवस्थापन शाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.