गल्ती गरेको छैन, हजारौँ छानबिन समितिको पनि सामना गर्न तयार छु : शर्मा

90

- Advertisement -

२३ असार २०७९, बिहिवार / काठमाण्डाै

अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिनुभएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले हिजो बुधवार राजीनामा दिनुभएको हो ।

उहाँले प्रतिनिधि सभामा सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । उहाँमाथि छानबिन गर्न हिजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो ।

प्रतिनिधि सभामा सम्बोधन गर्दै शर्माले बजेट निर्माणको क्रममा आफूले कुनै गल्ती नगरेको जिकिर गर्नुभएको छ । उहाँले देश र नागरिकको हितमा बजेट ल्याएकै कारण अनैतिक काम गरेको आरोप लागेको दाबी गर्नुभयो । नेकपा एमालेले विगतमा गरेको आफ्ना कर्तुत लुकाउन वा ओझेलमा पार्न अहिले नचाहिने हल्ला चलाएको शर्माले आरोप लगाउनुभयो । राजनीतिक प्रतिशोधका आधारमा आफूलाई आरोप लगाइएको भन्दै मन्त्री शर्माले छानबिन समितिलाई आफूले सहयोग गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘छानबिन समितिले आफ्नाे काम गरोस्, बजेट निर्माण गर्दा कुनै त्रुटि गरेको छैन । स्थापित मान्यता र तोकिएका आधिकारिक व्यक्ति राखेर बजेट निर्माण गरिएको छ । करको दर हेरफेर गर्ने सन्दर्भमा मन्त्रायलका दुई जना सचिव र दुई जना महानिर्देशकलाई मार्ग निर्देशन दिएको हो, आम नागरिकको पक्षमा बजेट आएको विषय कसैलाई सैह्य भएको छैन ।’

उहाँले मन्त्रालयको सीसीटीभी फुटेजको विषयमा आफूलाई मुछ्नु दुःखद भएको बताउनुभयो । एउटा मन्त्रीलाई सीसीटीभीको विषय कसरी थाहा हुन्छ भनेर उहाँले प्रश्न गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.